म्यादी दौडमा महिला पाइला

in नेपाली by

Sponsored Link:





उनी एक कक्षा पढ्ने स–साना नानीबाबुलाई हात समातेर लेखाउँथिन्। चौरमा पिटी खेलाउँथिन्। दगुर्न सिकाउँथिन्।

उनै अनु पराजुली आइतबार बिहान गौशालाको भण्डारखाल जंगलमा आफैं लेफ्ट–राइट गर्दै थिइन्।

उमेरले ३५ नाघेकी उनी लाममा मिलेर बस्न, उफ्रिन, सिट्ठीको तालमा परेड खेल्न अभ्यस्त देखिन्थिन्। तै यतिबेला स–साना बालबच्चासँग थिइनन्। कुर्ता सुरूवाल लगाएकी मोटीघाटी अनु कम्मरमा सल कसेर प्रहरीझैं कसरत गर्दै थिइन्, आफूजस्तै म्यादी प्रहरीसँगै।

दुई बच्चाकी आमा अनु शिक्षिकाको सजिलो जागिर छाडेर यसै म्यादी हुन आएकी होइनन्।

आफ्नै छोरीछोराजस्ता बालबच्चा पढाउँदै आएकी उनी शरीर थाकेर लोथ हुञ्जेल तालिम गर्नपर्ने म्यादी जागिरमा किन होमिइन्?

‘स्कुलमा बिहानदेखि बेलुकासम्म घोटिएको जम्मा ६ हजार रूपैयाँ हुन्थ्यो,’ अनुले भनिन्, ‘गुजारा चलाउनै हम्मे पर्ने त्यो जागिरमा अल्झन मन थिएन। म्यादी भर्ना हुने रहर पहिल्यै थियो।’

स्थानीय तह निर्वाचनमै म्यादी माग गर्दा उनलाई हुटहुटी भएको थियो। ‘पहिलोपटक म्यादी भर्ना खुल्यो भन्ने थाहा पाउँदा जाउँ कि भन्ने सोचेँ,’ उनले हाँस्दै भनिन्, ‘तलब ५१ हजार भन्ने थाहा पाएपछि त के चाहियो? जान्छु नै भन्ने भयो।’


अनु पराजुली। तस्बिरः सेतोपाटी

दृढ भए पनि खाइरहेको जागिरमा विदा मिलाउन मुस्किलै थियो। विदाको झञ्झट बेहोर्न मन लागेन, जागिरै छाडिदिइन्।

‘स्कुलले विदा दिँदैन, थाहा थियो, राजीनामै दिएँ,’ उनले सुनाइन्, ‘राजीनामा नदेऊ भनेर सरहरूले धेरै कर गर्नुभयो, मानिनँ।’

‘यहाँ ६ महिनामा पाउने तलब म्यादी भएँ भने २ महिनामै पाउँछु, त्यसैले जान्छु,’ उनले स्कुलमा भनिन्। स्कुलको झमेला त सकेर आइन्, अब घरमा समस्या भयो।

श्रीमानले सिधै ‘हुन्न’ भनिदिए। अनुलाई यो सह्य भएन। प्रहरी हुने उनको सानैदेखिको ‘सपना’ले घच्घच्याइरह्यो।

‘मन लागेको काम गर्न नपाइने हो र? गलत काम गर्न लागेको भए पो,’ उनले भनिन्, ‘पैसा नि धेरै हुने, आफूलाई रहर लागेको काम पनि। जे सुकै होस् भनेँ, फारम भरेँ।’

श्रीमान नमानेकाले उनले ढाँटेर फारम भरिन्। शारीरिक र लिखित परीक्षामा पास भएपछि भने श्रीमानले थाहा पाए।
श्रीमतीको सपनामा यसपालि उनी बाधक भएनन्, ‘जाऊ’ भने।

नाम निस्केको अनि श्रीमान र घरपरिवारको अनुमति पाएपछि अब उनलाई के चाहियो! रमाउँदै–रमाउँदै पहिलो चरण निर्वाचनको सुरक्षा तालिममा पुगिन्, लेफ्ट–राइट गर्न।

‘पहिलो तालिममा निकै डर लाग्यो। के होला, कसो होला, के गर्ने, कसरी गर्ने भनेर मन भारी हुन्थ्यो,’ उनले भनिन्, ‘फेरि शारीरिक कसरत नगरेको वर्षौैं भइसकेको थियो। निकै गाह्रो भयो।’

शरीरको भन्दा समस्या त अरूलाई देखेर भएको थियो। कलिला भाइबहिनी फूर्तिसाथ उफ्रेको–कुदेको देख्दा मनमा हीन भावना आउँथ्यो।

केही दिनसम्म हीनबोध भइरहे पनि उनले आफू यहाँसम्म आउँदाको संघर्ष सम्झिइन्, सपना देखिन् र फेरि हौसिइन्।
‘अरू मभन्दा कम उमेरका भए पनि हाम्रो जोस समान थियो। म त उनीहरूभन्दा के कम भन्दै सँगसँगै कुद्थेँ,’ तालिमका दिन सम्झँदै उनले भनिन्, ‘अझ म त सिकेका कुरा घरमा गएर श्रीमान्, छोरा र दिदी–भिनाजुलाई समेत देखाउँथेँ।’
उहाँहरू सोध्नुहुन्थ्यो, ‘कुद्न सक्छेउ त?’ म भन्थेँ, ‘गुटुङटुङ।’

यसरी लड्दै–भिड्दै उनी म्यादी प्रहरी भइन्। निर्वाचनमा प्रहरीकै पोसाक लगाएर हिँडिन्। सरकारले खटाएको ठाउँमा सुरक्षा दिइन्।

म्यादीको जागिर सकियो, भएको स्कुलको नोकरी पनि थिएन। हल्का–फुल्का बाहिरी काम गर्दै घरमै समय दिँदै आएकी थिइन्। फेरि निर्वाचनमा म्यादी प्रहरी भर्ना खुलेपछि उनका गोडा थामिएनन्।

फारम भरिन्। पास भइन्। तालिम लिइरहेकी छन्।




‘फेरि नि राम्रो पैसा कमाइने भयो,’ उनले हाँस्दै भनिन्, ‘योभन्दा बढी रमाइलो आफूभन्दा कलिला भाइबहिनीसँगै कुद्न, उफ्रिन र सिक्न मज्जा आएको छ।’

अनुसँगै तालिम लिइरहेकी कलिला बहिनीमध्ये एक हुन्, रेनुका। १८ वर्षकी रेनुका देवी भुजेलको सपनै हो, प्रहरीको पोसाकमा ठाँटिएर हिँड्ने। बाटामा प्रहरी देख्दा पनि उनीहरूका जस्तै पोसाक लाएर त्यही भिडमा आफू हिँडेको कल्पना गर्थिन्।

पढुँला, प्रहरीमा जागिर खाउँला भन्ने उनको सपना बिहेपछि टुक्रियो। अब प्रहरी हुने त सपनै हो भन्दै गर्दा म्यादी प्रहरीबारे थाहा पाइन्। पहिलोपटक ढिलो थाहा भएकाले उनले फारम भर्न पाइनन्।


रेनुका भुजेल।

यसपालि श्रीमानले नै आएर भनिदिए।

‘मलाई उहाँले तिम्रो इच्छा पूरा गर भन्नुभयो। घरका पनि सहमत हुनुभयो,’ रेनुकाले भनिन्, ‘त्यसपछि मेरो यात्रा सुुरु भयो।’
‘हरेकपटक परेड खेल्दा, स्यालुट गर्न सिक्दा लाग्छ म प्रहरी नै भएकी छु। भोलि ड्यूटी गएर आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुने तयारी गर्दैछु,’ उनले भनिन्, ‘सकेको राम्रो गर्ने प्रयासमा छु।’

उनलाई म्यादी अवधि सकिएपछि पनि प्रहरीमै भर्ना हुने रहर छ।

‘आठ कक्षा पास छु, पढाइ त पुग्ला, उचाइ पो कम छ,’ उनले हाँस्दै भनिन्, ‘बढ्ला नि मेरो हाइट।’

अनु र रेनुकासँगै मिसिएकी छन्, इलामकी जीवनकुमारी ढकाल। १२ कक्षा सकेकी उनी फुर्सदको समय म्यादी प्रहरी हुन आएकी हुन्। उनी पनि रेनुकाजस्तै पहिलोपटक तालिम लिँदैछन्।

‘म जाँच सकेर फुर्सदमा थिएँ। दाइले जान्छेस् म्यादी प्रहरीमा? भन्नुभयो। यसै बस्नुभन्दा जानै ठीक होला जस्तो लाग्यो,’ जीवनकुमारीले भनिन्, ‘दाइले नै फिजिकलमा के–के हुन्छ भनेर सिकाउनुभयो।’

म्यादी प्रहरीमा उनकी आफ्नै दिदी पनि छन्। दिदीका अनुभवले म्यादी हुन हौस्याएको उनी बताउँछिन्। अहिले उनी बिहानै उठेर दगुर्न पाउँदा, साथीहरूसँग गफिन पाउँदा दंग छिन्। इलामको सानो गाउँमा जन्मिएकी जीवनकुमारी म्यादी भएपछि निकै ‘फरवार्ड’ भएकी छन्, उनको आत्मविश्वास बढेको छ।

उनका आमाबुवा पनि दंग छन्।

‘ममीबुवाले फोन गर्नुभएको थियो। म्यादी प्रहरीमा गइछस्, कस्तो खुसी लाग्या छ भन्नुभयो,’ उनले भनिन्, ‘गाउँमा छोरी प्रहरीमा गइछे भन्दा सम्मान नै बेग्लै भएको सुनाउनुभयो।’

प्रहरी दर्जाको फुली नलाए पनि म्यादीमा आउनु गर्वको कुरा भएको उनको बुुझाइ छ। उनका अनुसार गाउँमा घाँसपात मात्र गरेर बेरोजगार बसेका युवाले देशसेवा गर्न पाउनु ‘भाग्य’ कै कुरा हो। उनी यसलाई ठूलो उपलब्धि मान्छिन्।


जीवनकुमारी ढकाल।

देशभर अनु, रेनुका र जीवनकुमारीजस्ता हजारौं महिला म्यादी प्रहरी तालिममा व्यस्त छन्।

मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन निम्ति ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी तालिम गर्दैछन्।
डिआइजी मनोज न्यौपानेका अनुसार तीमध्ये महिलाको संख्या २२ हजारभन्दा धेरै छ।

‘महिला सहभागिता र पफर्मेन्स एकदम राम्रो छ,’ डिआइजी न्यौपानेले भने, ‘दिदीबहिनीहरू निकै उत्साहित हुनुहुन्छ। उहाँहरूलाई देख्दा गर्व लाग्छ।’

कात्तिक १२ बाट सुरु तालिम कात्तिक २४ गतेसम्म हुनेछ। म्यादीले नेपाल प्रहरीको जवानसरह तलब, पोसाक र रासन पाउनेछन्। त्यसमा ५५ दिनको तलब, दैनिक विशेष भत्ता सुुविधा छ। म्यादी भर्ना गर्दा २० प्रतिशत महिला अनिवार्य छ। यसकारण पनि महिला सहभागिता बढेको डिआइजी न्यौपाने बताउँछन्।

हेर्नुस भिडियो।

सबै तस्बिरहरुः बिद्या राजपुत/ सेतोपाटी

Sponsored Link:



Comments

comments