चुनावी भाषणमा योजनाको ओइरो

in नेपाली by

Sponsored Link:




२७ कात्तिक, डोटी । चुनावको मिति नजिकिदै जाँदा डोटीका उम्मेद्वारहरु जनमत आफ्नो पक्षमा पार्न गाउँ केन्द्रित अभियानमा लागेका छन् । चुनावी कार्यक्रममा उम्मेद्वारले बिकास योजनाको सपना बाडिरहेका छन् ।

मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेद्वारहरुले डोटीमा विकास निर्माणका योजनाहरुको ओइरो लगाएका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेद्वार भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री वीरबहादुर बलायरले अबको ३५ बर्षसम्म थप योजना माग गर्नु नपर्ने गरी सडक सञ्जालको योजना तयार भएको दावी गर्दैछन् ।

उनी भन्छन् ‘म मन्त्री भएकै बेला चुनावी आचारसंहिता लागू भएका कारण ती योजनाहरु कार्यान्वयनमा नआएका हुन् तर सवै योजनाहरुको आवश्यक प्रक्रिया पूरा भइसकेको छ ।’ उनको भाषणमा रहेका सडक योजनाहरुमध्ये कैलालीको खुटीयाबाट डोटीको दिपायल, बझाङ्गको चैनपुर हुँदै चीनको ताक्लाकोट जोड्ने सडक पहिलो सूचीमा छ ।

यस्तै मन्त्री बलायरले डोटीका बिभिन्न कच्ची सडकहरुमा ३५ मोटरेवल पुल निर्माणको योजना बनिसकेको बताए । ‘आफू मन्त्री भएका बेला किन आफ्नो जिल्लाको विकास नगर्ने ? भनेर मैले यी योजनाहरु तयार गरेको हुँ’ बलायर भन्दै आएका छन् ।

बलायरले खुटीया दिपायल फाष्ट ट्रयाक, बोगटान सकड, दिपायल चवारा चौतारा सडक, मौवा मेल्लेक सडक लगायत दर्जन बढी सडकहरु निर्माणको योजना तय भईसकेको दावी गर्दै आएका छन् । मन्त्री बलायरले चुनावपछि नयाँ सरकार बन्न करीव दुई महिना लाग्ने भएका कारण आफुसँग काम गर्न प्रसस्त समय रहेको बताउँदै भने ‘त्यो दुई महिनाको अवधीमा धेरै काम गर्न सकिन्छ र गर्छु पनि ।’

बलायरसँग प्रतिस्पर्धा गरिरहेका बाम गठबन्धनका उम्मेद्वार एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगरको भाषणमा पनि योजनाको ओइरो छ । त्यसो त मन्त्री बलायरले आफ्नो भाषणमा समावेश गरेका अधिकांश सडक योजनाहरु आलेले यस अघि पनि उठाउँदै आएका थिए ।




खुटीया-बिपीनगर दिपायल सडक, बोगटान सडक, बुडर जोरायल सडक लगायतका आधा दर्जन सडकहरुमा आफ्नो पहलबाट गतिलो बजेट आएको आलेको दावी छ ।

‘२०६४ सालको चुनावमा हारेर पनि डोटीको बिकासका लागि निरन्तर खटिरहेको थिएँ र २०७० मा चुनाव जितिसकेपछि मैले जिल्लाको बिकासका लागि धेरै प्रयास गरेको छु ।’

आलेको भाषणमा समावेश हुने वाक्य हो । आलेले जिल्लाका बिभिन्न सडकहरुमा बजेट बिनियोजन भई टेण्डर समेत निस्किसकेकोले आफु झुटा नबोलेको दावी गर्दै आएका छन् ।

बलायरको सभाहल, आलेको बिमान स्थल

मन्त्री बलायर डोटीको राजपुरमा निर्माण भइरहेको प्रदेशस्तरीय सभाहल आफ्नो सक्रिय पहलमा बन्न लागेको बताउँछन् । २०७१ सालदेखि निर्माणाधिन उक्त सभाहल तीन सय जनाको क्षमताको रहेको छ । बलायरले आफ्नो प्रमुख कामको रुपमा उक्त सभाहललाई प्रचार गरिरहेका छन् ।

यता आलेले डोटी बिमानस्थलको स्तरोन्नतीलाई आफ्नो प्रमुख कामको रुपमा व्याख्या गर्दै आएका छन् । लामो समयदेखि बन्द रहेको बिमान स्थल आफूले पहल गरेर स्तरोन्नतिका लागि वजेट निकासा भएको दाबी आलेको छ । उक्त बिमानस्थल स्तरोन्नतिको काम जारी छ ।

प्रदेश राजधानी मुख्य एजेण्डा

चुनावमा होमिएका सबै उम्मेदवारहरुको साझा एजेण्डा चाहीँ के छ भने प्रदेश नम्बर ७ को राजधानी दिपायललाई बनाउने ।

प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका बलायर र आले २०६९ सालमा भएको अखण्ड सुदूरपश्चिम आन्दोलनका अगुवा हुन् ।

२०७० चुनावमा उनीहरु दुवैले अखण्ड सुदूरपश्चिमलाई मुख्य चुनावी एजेण्डा बनाएका थिए । उनीहरुको भनाई अनुसार साविकको सुदूरपश्चिम बिकास क्षेत्र एक प्रदेश भएपछि अव राजधानी दिपायल बनाउने भन्दै जनतासँग मत माग्न मागिरहेका छन् ।

नयाँ योजना छैनन् उम्मेद्वारहरुसँग

एकले अर्कालाई कमजोर देखाएर चुनाव जित्ने सपना बोक्दै जनताका बिचमा गइरहेका उम्मेद्वारहरुसँग नयाँ योजनाहरु भने भेटिँदैनन् । सडक निर्माण गर्ने, खानेपानी बनाउने, बिद्यालय भवन बनाउने, सभा हल बनाउने, बिमानस्थल बनाउने, राजधानी बनाउने पुरानै योजनालाई उल्टाई-पल्टाई गर्दै दलहरु मत माग्दै आइरहेका छन् ।

व्यरोजगार युवाहरुलाई कसरी रोजगारी दिने, गरीवी कसरी न्युनीकरण गर्ने, अशिक्षा, असमानता जस्ता बिषयहरु खासै प्राथमिकतामा परेका छैनन् उम्मेदवारहरुका ।

Sponsored Link:



Comments

comments